घुमुवा प्रहरी छानवीनको दायरामा

ग्राउण्डजिरो सम्बाददाता , २५१३३  पटक हेरिएको

विराटनगर ।
तस्करी नियन्त्रण गर्न भूमिका खेल्नुपर्ने प्रहरीहरु नै तस्करहरुसँग मोटो रकम लिएर तस्करी गराउन सक्रिय रहँदै आईरहेका समाचार बारिएपछि २जना घुमुवा प्रहरीको सरुवा भएको छ भने अन्य छानवीनको दायरामा रहेको प्रदेश प्रहरी कार्यालयका प्रममुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुवेर खापुङ ले बताएका छन् । सरुवा हुनेमा राजेन्द्र कटवाल र सरोज यादव रहेका छन् । मोरङ जिल्लाका सिमानाकाबाट अबैध सामान ओसार पसार गरिरहेका तस्करहरुबाट मोरङ जिल्लामा घुमुवा प्रहरीको रुपमा कार्यरत रहेका प्रहरीहरु नै रकम असुल्ने गरेका हुन् । तर तस्कर संगको साँठगाँठको बिषय लाई लिएर केहि दिन यता समाचार बाहिरीएपछि प्रहरीले घुमुवा प्रहरीहरुको बिषयमा छानवीन गरीरहेको हो ।

गृह मन्त्रालयले घुमुवा प्रहरीहरु राख्न नपाउने निर्देशन जारी गरेपछी केहि समय जिल्ला प्रहरी कार्यालय मोरङले घुमुवा प्रहरिहरु हटाएको थियो । तर मोरङ प्रहरी प्रमुख भएर नवराज कार्की आए संगै अहिले मोरङ जिल्लामा १४ जना घुमुवा प्रहरीहरु रहेका छन् । अन्य प्रहरीहरुले अपराध र अन्य मुद्दा हेरेपनी धेरै जसो प्रहरीहरु भने तस्कर, व्यापारी र होटल, रेष्टुरेन्टहरुबाट रकम अशुल्ने गरेको होटल तथा गितगजलका संञ्चालक हरुले बताए ।
सिमानाकामा उनीहरूले तस्करसँग मासिक १ लाख देखी ३ लाख सम्म रकम लिएर लाइन मिलाइदिने काम गर्छन । तर जोगवनी गएर ५ सय र १ हजारको समान ल्याउने स्थानीयलाई भने प्रहरीले दुख दिने गरेका छन् ।

सात वर्षदेखि जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत चौधरी पनि तस्कर र होटल तथा गीतगजलबाट रकम असुल्ने कार्य गर्छन् । त्यहि कारणले पनि उनको सरुवा हुन सक्दैन् ।उनको संखुवासभामा केही समय अगाडीसम्म दरबन्दी थियो । तर घुमुवा प्रहरी रहेका चौधरी रकम उठाउन सक्रीय रहने भएकोले समयदेखि मोरङमा नै रहिरहेका छन् । माथिल्लो दर्जाका प्रहरीले मोटो रकम असुलेर आफुसम्म ल्याउनेलाई सरुवा नगर्ने प्रहरी श्रोत बताउँछ । चौधरी मोरङ जिल्ला भरीका बोर्डरहरुबाट तस्करी गरिरहेका तस्करहरुसंग समेत मासिक रुपमा रकम असुल्दै आईरहेका छन् ।

त्यस्तै सरोज श्रेष्ठ पनीअबैध रकम असुल्नेमा पर्छन् । जिल्ला प्रहरी कार्यालय मोरङमा तीन वर्षदेखि कार्यरत श्रेष्ठ पनि घुमुवा प्रहरी नै हुन् । उनी पनि तस्करहरूसँग रकम उठाउन माहिर छन् । त्यसैले उनको पनि सरुवा हुँदैन । बेला बेला अयन्त्र जिल्ला जाने गरेपनी उनी पुन बोर्डरकोे छेउछाउ आइपुग्छन् । न त उनलाई सरुवा नै गर्न सक्छन् । नत सरुवा नै गर्न खोज्छन् । गरुन पनि कसरी, मोटो रकम उनैले बुझाउँछन् ।

प्रहरी श्रोतका अनुसार उनीहरूलाई माथिल्लो दर्जाका प्रहरीहरूले नै रकम उठाउन खटाएका हुन् । हवल्दार बिनोद यादव उदयपुर जिल्ला प्रहरी कार्यालयमा सरुवा भएपनी पावर र पहुँचको भरुमा मोरङ जिल्ला प्रहरी कार्यालय मातहतमा बसेर मोरङ आसपासमा तस्करीमा सक्रिय तस्करहरुसंग मोटो रकम असुल्नेमा पर्छन यादव ।

बरिष्ठ हवल्दार राजमंगल सिंह मोरङ जिल्लामा पटक पटक सरुवा भएर आई घुमुवा प्रहरीका रुपमा कार्यरत रहदै आएका छन् । प्रहरी जवान पिन्टु यादव माथिल्लो निकायले बोर्डमा खटाएका एक प्रहरी हुन् । प्रहरी सुत्रका अनुसार यादव जिल्ला मातहतमा रहेर तस्करहरुसंग साँठ गाँठ गर्छन र तस्करी गर्ने लाई लाइन दिएर काम गर्ने गरेका छन् । लामो समयदेखि तस्करीमा सक्रिय ओम साह, सवनम, धिरु काली, बब्लु, मिथुन, गुड्डु लगायतले प्रहरीलाई मासिक १ लाख सम्म रकम बुझाउने गरेका छन् । जसका कारण उनीहरूले कुनै रोकटोक बिना तस्करी गरिरहेकाहुन्छन् ।

यस्तै लामो समयदेखि सुन र पैसा तस्करी गरिरहेका मर्गुव मिँयाले मासिक १ लाखभन्दा बढी रकम बुझाउने गरेका छन् । लामो समयदेखि तस्करी गर्दै आएका सौरभले पनि मासिक १ लाख ५० हजारसम्म माथिल्लो निकायलाई बुझाउँछन् भने सिमानाकामा भएको इलाका प्रहरी कार्यालय रानीलाई मासिक ५० हजार र सिना प्रहरी चौकी लाई ५० हजार देखी १ लाख सम्म बुझाउने गरेका छन् ।

बोर्डरको दक्षिण गेटबाट तस्करीमा सक्रिय दिलिप सहनी , निलम,जर्नादन यादव, सुरेस,हरी , विक्रम, मन्जेश, प्रतिमा, विनोद केशरी, उमा संखर, टिका कार्की, कविता यादव लगायतले मासिक २० हजार देखी ३ लाख सम्म बुझाउने गरेका छन् । लामो समयदेखि सुपाडीको तस्करी गर्दै आएका मुन्ना सुपारीले सिमानाकामा भएका प्रहरी र घुमुवा प्रहरीहरुलाई मासिक ३० देखि ४० हजार बुझाउँछन् । यसैगरी कवाडीको तस्करी गर्ने देवु शाह, किरानाको तस्करी गर्ने रोसनी र किरानाकै तस्करी गर्ने विनोदले मासिक १ लाखसम्म रकम बुझाउने गरेका छन् । यि त विराटनगर आसपासमा रहेर तस्करी गर्ने तस्कर हुन । यि बाहेक मोरङमा रहेका विभिन्न नाकाबाट तस्करी गर्ने तस्करहरूले मासिक रूपमा स्थानिय प्रहरी चौकी र मोरङ प्रहरी प्रमुख सम्मलाई रकम वुझाउने गरेको प्रहरी स्रोतले बताउँछ ।

पछिल्लो समय विराटनगरको मटेह्ररुवा , स्लामपुर, दरेयाबाट तस्करी हुने गरेको छ । रातीमात्र तस्करी हुनेगरेको स्थानिय बताउँछन् । रातको समयमा दरैया, ईस्लामपुर, बखरी, मटिहर्वा लगायत मोरङका दर्जनौँ खुल्ला नाकाबाट अटो र सिटीमा सामान कटाउने गरिएको स्थानियको भनाई छ । तस्करीको सामान ल्याएको देख्दा समेत जनपथ प्रहरी र शसस्त्र प्रहरी मौन बस्छन् । जुन ब्यक्तिबाट पैसा असुली गरेको छ त्यो ब्यक्तिलाई रोकिँदैन । तर पैसा नबुझाएका ब्यक्तिलाई भने पक्राउ गर्ने गरेका छन् । स्थानियले घरायसी प्रयोगका लागि सामान ल्याउँदा कर तिर्न बाध्य भएपनि प्रहरी कै संरक्षणमा तस्करले मोटो रकमको सामान भित्र्याउन पाइरहेका छन् । यसमा सम्बन्धित पक्षको ध्यान जान जरुरी छ । यस विषयमा कोशी प्रदेश प्रहरी कार्यालयका डिआईजी चन्द्रकुवेर खापङले कोशी प्रदेश प्रहरी कार्यालयले कुनै पनी सिभिल प्रहरी नराखेको र जिल्ला प्रहरी कार्यालय मातहतमा मात्र रहेको र यस्ता गतिविधिमा संलग्न प्रहरीहरुलाई कारवाहिको दायरामा ल्याउने बताएका छन् ।

प्रकाशित मिति: २०२४-०७-२३ , समय : १२:४४:४२ , ६ महिना अगाडि