ग्राउण्ड जिरो सम्बाददाता , ८४२ पटक हेरिएको
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जग्गामा कित्ताकाट खुलाउने निर्णय तत्काल कार्यान्वयन हुने बताएका छन् । सोमबार निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाहरुसँग गरेको छलफलका क्रममा उनले कित्ताकाट खुलाउने निर्णय तत्काल कार्यान्वयन हुने बताएका हुन् ।
छलफलका क्रममा निजी क्षेत्रका प्रतिनिधिहरुले जग्गाको कित्ताकाट नखुल्दा घर निर्माणका गतिविधि रोकिई निर्माण उद्योग प्रभावित भएको गुनासो निजी क्षेत्रले गरेको थियो । ‘कित्ताकाट खुलाउने निर्णय वैशाखमै भए पनि अहिलेसम्म कार्यान्वयन नभएको कुरा निजी क्षेत्रले राख्दा प्रधान मन्त्रीले भोलिदेखि नै यो निर्णय कार्यान्वयन हुने बताउनुभयो,’ नेपाल चेम्बर अफ कमर्सले जनाएको छ ।
प्रधानमन्त्री प्रचण्डले उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, अर्थमन्त्री डा। प्रकाशशरण महत, गभर्नर महाप्रसाद अधिकारी, मुख्यसचिव डा। बैकुण्ठ अर्याललगायतलाई सँगै राखेर नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष र पदाधिकारीहरुसँग सिंहदरबारमा छलफल गरेका थिए ।
छलफलका क्रममा गभर्नर महाप्रसाद अधिकारीले चालू पुँजी कर्जा कार्यविधिमा संशोधनका लागि नेपाल राष्ट्रबैंक सकारात्मक रहेको पनि बताएका छन् । तर, शेयर धितो कर्जामा १२ करोड रुपैयाँको सीमालाई हटाउन वा बढाउन भने अहिले कठिन रहेको उनको धारणा छ । अहिले ५० लाख रुपैयाँसम्मको यस्तो कर्जामा जोखिम भार १ सय प्रतिशत ल्याइएकोमा सबै कर्जामा यस्तो व्यवस्था गर्न निजी क्षेत्रले सुझाव दिएको थियो ।
सो क्रममा निजी क्षेत्रका तीन संस्थाले विभिन्न मागहरु लिखित रुपमा प्रधानमन्त्रीलाई बुझाएका थिए । दशैंअघि नै ठेक्का लगाई पुँजीगत खर्च वृद्धि गर्ने वातावरण सरकारले बनाउनुपर्ने उनीहरुको माग थियो । त्यस्तै, अहिले एकातिर ४ सय मेगावाट विद्युत् खेर गइरहेको तथा अर्कातिर दिनमा २० पटकसम्म बत्ती जाने आउने गरिरहेकाले निजी क्षेत्रसमेतको सहभागितामा विद्युत् पूर्वाधार बनाउन सरकारले सहजीकरण गर्नुपर्ने माग पनि निजी क्षेत्रले राखेको छ ।
प्रकाशित मिति: २०२३-०८-१८ , समय : १०:२८:२७ , १ वर्ष अगाडि