सम्बाददाता , १२३०२४ पटक हेरिएको
नेपाली फिल्मको इतिहासमा ‘प्रेमगीत ३’को जति प्रतिक्षा र चर्चा अरु नेपाली फिल्मको भएको छैन । पहिलो पटक नेपाली फिल्म हिन्दीमा डब हुनुले पनि यो फिल्मप्रति सर्वाधिक चासो छ । अझ भनौं, देशकै चासो छ । यस हिसाबमा फिल्मले प्रदर्शनको दुई दिन (शुक्रवार र शनिवार) घरेलु बक्सअफिसमा आँधी ल्याउन सक्छ । किनकि, यो फिल्मको प्रतिक्षा नगर्ने युवापुस्ताको जमात भेट्न गाह्रो छ । आइतवारबाट भने फिल्मको व्यापार ‘वर्ड अफ माउथ’मा निर्भर रहनेछ ।
‘प्रेमगीत ३’ असोज ७ गते भारतमा हिन्दी डबमा रिलिज हुँदैछ भने नेपालमा यही मितिमा नेपाली भर्सन र हिन्दी डब एकसाथ लाग्दैछ । तर, हिन्दी डबको अहिलेसम्म नेपालमा सेन्सर भएको छैन । नेपाली भर्सन भने सेन्सर पास भएर केही हलमा बुकिङ पनि खुलिसकेको छ । हिन्दी डबलाई लिएर भने विवाद उब्जिएको छ । निर्माण टिमले हिन्दी डबलाई नेपाली फिल्म सरह सुविधा अर्थात् विदेशी फिल्मले तिर्नुपर्ने १५ प्रतिशत विकास शुल्क मिनाहको माग गर्दै चलचित्र विकास बोर्डमा निवेदन बुझाएपछि समर्थन र विरोध दुवैखाले आवाज बुलन्द बनेको छ ।
फिल्मको टिमसहित एकथरीले नेपाली कम्पनीको निर्माण, नेपाली कलाकारको अभिनय र नेपाली भूमिमा छायांकन भएकाले हिन्दी डबलाई १५ प्रतिशत विकास शुल्क नतिरी नेपाली फिल्मकै सरह सुविधा दिनुपर्ने तर्क राखेका छन् भने अर्काथरीले हिन्दीमा डब भइसकेको फिल्मलाई नेपाली फिल्म सरह सुविधा दिनु गलत हुने धारणा राखेका छन् । यो विषयमा फिल्म क्षेत्र दुई कित्तामा बाँडिएपछि बोर्ड पनि अन्योलमा देखिएको छ । जसले गर्दा हिन्दी डबको सेन्सर हुन सकेको छैन ।
विदेशी भाषाका फिल्मलाई नेपाल ल्याउँदा वितरकले आम्दानीको १५ प्रतिशत विकास शुल्क बोर्डलाई तिर्नुपर्ने नियम छ, जुन बोर्डको रोजीरोटी पनि हो । यो शुल्क नेपाली फिल्ममा भने लागू हुँदैन । अर्थात् ‘प्रेमगीत ३’को नेपाली भर्सनले १५ प्रतिशत विकास शुल्क तिर्नु पर्दैन । तर, हिन्दी डबलाई नेपाल ल्याउँदा विकास शुल्क तिर्नुपर्ने नियम सक्रिय हुन्छ । अहिले फिल्मको टिम र बोर्डबीच यही विषयमा द्वन्द्व छेडिएको छ ।
शनिवार राजधानीमा आयोजित एक कार्यक्रममा फिल्मका निर्माता तथा निर्देशक सन्तोष सेन र अभिनेता प्रदीप खड्का बोर्ड अध्यक्ष भुवन केसीविरुद्ध खनिए । १५ प्रतिशत विकास शुल्क तिर्नुपर्ने नियममा सेन र खड्का लचक देखिए पनि यही बिहीवार बोर्डले एक सूचना प्रकाशित गर्दै विहान ६ बजेभन्दा अगाडि र रातीको ११ बजेपछि शो निर्धारण गरेर फिल्म नचलाउन प्रदर्शकहरुलाई निर्देशन दिएको विषयमा भने आक्रामक सुनिए । प्रदीपले त भुवन केसीलाई राजीनामा नदिए राजा हटाए झैं हटाउन सक्ने चेतावनी समेत दिए ।
प्रकाशित मिति: २०२२-०९-२० , समय : १२:२४:५४ , २ वर्ष अगाडि