नवजात शिशु डाक्टर कर्णले पाँच लाख लिएर बेचे

ग्राउन्ड जीरो सम्बादाता , ८०९  पटक हेरिएको

विराटनगर ।  कोशी अस्पतालका पूर्वमेसु तथा स्त्री तथा प्रसूती रोग विशेषज्ञ डाक्टर तपेश्वरलाल कर्णले एक दिने नवजात शिशु मोटो रकम लएर निःसन्तान दम्पतीलाई बचेको खुलासा भएको छ ।

अविवाहित जोडिबाट विराटनगरस्थित ग्रिनक्रस हस्पिटलमा जन्म भएको नवजात शिशु डाक्टर कर्णले पाँच लाख लिएर बेचेको प्रहरीको अनुसन्धानबाट खुलेको हो ।

डाक्टर कर्णले मोरङको कटहरी गाउँपालिका – २ आदर्श टोलकी दिलमाया राजवंशीलाई नवजात शिशु बेचेको पुष्टि भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जन कुमार दाहालले जानकारी दिए । विवाह भएको एक दशक वितिसक्दा पनि दिमायाको छोरा –बुहारीको सन्तान नभएकोले शिशु खरिद गरेको उनले स्वीकार गरेको प्रहरीले जनाएको छ । ‘डाक्टर कर्णले पाँच लाख रूपैयाँ लिएका छन् । दुई लाख रुपैयाँ हस्पिटलमा उपचारमा खर्च भएको दिमायाले प्रहरीलाई बयानको क्रममा बताएकी छिन्,’ घटनाको अनुसन्धान गर्दै आएका एक प्रहरी अधिकृतले भने ।

असार १३ गते अविवाहित महिलाले ग्रिनक्रस हस्पिटलमा छोरीलाई जन्म दिएपछि नवजात शिशुलाई एनआइसियूमा राखेर उपचार गर्नुपर्ने अवस्था थियो । डाक्टर कर्णको योजनामा नवजात शिशु किनेपछि राजवंशी दम्पतीले विराट नर्सिङ होममा थप उपचारको लागि लगेका थिए ।

विराटमा उपचारको क्रममा दुई लाख रुपैयाँ खर्च भएको दिलमायाले बताएकी छिन् । नवजात शिशु किन्ने राजजवंशीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । शिशु बेच्ने डाक्टर कर्ण र शिशुका बावु यसअघि नै पक्राउ परिसकेका छन् । प्रहरीले डा. कर्णले यसअघि पनि शिशु विक्री गरेको सूचना आएको भन्दै थप अनुसन्धान भइरहेको मोरङ प्रहरीका प्रमुख एसपी दीपक पोखरेलले बताए । ‘डाक्टर कर्णले अरु पनि नवजात शिशु बेचेको सूचना आएको छ,’ उनले भने, ‘त्यस विषयमा पनि हामीले अनुसन्धान सुरू गरेका छौं । कति नवजात शिशुहरु डाक्टर कर्णले बचेको छन् भन्ने अनुसन्धान गर्दैछौं ।’

कर्णले यसअघि पनि शिशुलाई मोटो रकम लिएर निःसन्तान दम्पतीलाई उपलब्ध गराउँदै आएको हस्पिटलका चिकित्सक बताउँछन् । उनी लामो समयदेखि यस्तो कार्यमा सक्रिय रहेको हुनसक्ने भएकोले प्रहरीले यसतर्फ पनि अनुसन्धान अगाडि बढाएको छ । कर्णको धन्दा नै अवैध गर्भपतन गराउने र त्यस्तो सम्बन्धबाट जन्मिएका शिशुको व्यवस्थापनका नाममा अभिभावकबाट समेत रकम लिने र त्यही शिशुलाई मोटो रकम लिएर निःसन्तान दम्पतीलाई बिक्री गर्ने देखिएको छ ।

अवैध सम्बन्धबाट गर्भ रहने तथा अविवाहित प्रेम जोडीसँग कर्णको भेट गराउने गिरोह नै सक्रिय रहेको अस्पताल स्रोतको भनाइ छ । केही स्वास्थ्यकर्मी पनि उनको सहयोगी रहेको उनलाई नजिकबाट चिन्ने चिकित्सकहरू बताउँछन् । अविवाहित जोडीको सम्बन्धबाट बसेको गर्भ पतन गराउने र गर्भपतन गर्न नमिलेर जन्मिने शिशुको व्यवस्थापनका लागि अभिभावकबाटै रकम लिएर कर्णले अन्यत्र बिक्री गर्दै आएको बुझिएको छ ।

प्रहरीले डा. कर्ण र शिशुका बावु भोजपुरको हतुवा गढी गाउँपालिका–४ घर भएका २७ वर्षीय गोविन्द राईलाई ‘व्यक्ति बेपत्ता पारेको कसुरमा’ आइतबारबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको छ । राई शिशु जन्म दिने महिलाका प्रेमी हुन् ।

प्रकाशित मिति: २०२३-०८-२२ , समय : २०:२२:५७ , १ वर्ष अगाडि