ग्राउन्ड जीरो सम्बादाता , ७८९ पटक हेरिएको
मलेखु ।काठमाडौँबाट पोखरा हुँदै म्याग्दीको बेनितर्फ जाँदै गरेको बस धादिङको गजुरी गाउँपालिका–२ चालिसेस्थित छहरामा दुर्घटना हुदा मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ ।
प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस अनियन्त्रित भइ सडकबाट त्रिशूली नदीमा खसेको थियो । उद्धारमा खटिएका स्थानीयवासीका अनुसार मृत्यु हुनेमा एक बालिका र एक महिला छन् ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार बसमा सवारमध्ये १७ जना घाइते छन् । उद्धार गरिएकाहरुमा १३ जनालाई उपचारका लागि काठमाडौँ पठाइएको छ भने चार जनाको गजुरी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।
बस नदीमा डुबेकाले यात्रु डुबेको या खोलाले बगाएको आशंकामा गोताखोरको टोलीले थप यात्रुको खोजी गरिरहेको छ । उद्धारमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी खटेका छन् । साँघुरो सडकमा ‘ओभरटेक’ गर्न खोज्दा अनियन्त्रित भएर बस खसेको प्रारम्भिक अनुमान गरिएको छ । तर दुर्घटनाको कारण अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
प्रकाशित मिति: २०२३-०८-२३ , समय : १४:५६:३९ , १ वर्ष अगाडि