ग्राउण्ड जिरो न्यूज सम्बाददाता , ५७६० पटक हेरिएको
काठमाडौँ । मेडिकल कलेज सञ्चालक समेत रहेका सांसद डा सुनील शर्मा रिहा भएका छन् । शैक्षिक प्रमाणपत्र किर्ते गरेको अभियोगमा पक्राउ परेका शर्मा शुक्रबार साँझ थुनामुक्त भएका हुन् ।
अदालतले ‘तारेखमा राखेर अनुसन्धान गर्नु’ भन्ने आदेश गरेपछि कांग्रेसका सांसद डा सुनिल कुमार शर्मालाई रिहा गरिएको सिआईबीका एसपी नवराज अधिकारीले बताए । कक्षा १२ शैक्षिक प्रमाणपत्र नक्कली रहेको आरोपमा ब्यूरोले उनलाई बिहीबार पक्राउ गरेको थियो ।
थुनामुक्त भएका शर्मालाई मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईँले स्वागत गरेका छन् । शर्मालाई दुर्गा प्रसाईँ र शर्माका परिवारका सदस्यले जिम्मा लिएका छन् ।
अनुसन्धान अधिकृतले उनलाई बयान गराउने लगायतका अनुसन्धान थुना बाहिर राखेर गर्न सक्ने कानूनी व्यवस्था छ ।
यसअघि जिल्ला अदालत काठमाडौँले शर्मालाई थुनामा नराख्न आदेश दिएको थियो । जिल्ला अदालत काठमाडौँका न्यायाधीश डण्डपाणि शर्माको इजलासले थुनामा नराखिकन शर्माविरुद्ध अनुसन्धान गर्न पनि केन्द्रीय अनुसन्धान ब्युरोको नाममा आदेश दिएको हो ।
शर्मासँगै यो प्रकरणमा पक्राउ परेका अन्य ८ जना भने रिहा भएका छैनन् ।
प्रकाशित मिति: २०२३-०८-११ , समय : २०:५५:४६ , १ वर्ष अगाडि