बर्जुबाट कटुवा पेस्तोल र गोलीसहित पक्राउ

ग्राउण्ड जिरो सम्बाददाता , ७४१  पटक हेरिएको

सुनसरीको बर्जुबाट कटुवा पेस्तोल र गोलीसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बर्जु गाउँपालिका–६ बेलाहाका १८ वर्षीय राम चौधरीलाई पक्राउ गरेको हो ।

सुनसरी प्रहरी प्रवक्ता डीएसपी राजकुमार राईका अनुसार घरमा पेस्तोल लुकाएर राखेको सूचनाका आधारमा प्रहरी टोली  परिचालन भएको थियो ।

इलाका प्रहरी कार्यालय दुहवीबाट इन्सपेक्टर मोहन पोखरेलको नेतृत्वमा खटिएको टोलीले आइतबार राति ११ः३० बजेतिर चौधरीको घरमा छापा हानेको थियो । प्रहरीले घरको कोठामा लुकाएर राखेको अवस्थामा पेस्तोल र एक राउण्ड गोली फेला परेको डीएसपी राईले बताए ।

प्रहरीले घरमा छापा हानेको जानकारी पाएपछि चौधरी फरार भएका थिए । उनलाई सोमबार पक्राउ गरिएको जानकारी राईले दिए । उनका अनुसार लुकिछिपी बसिरहेको अवस्थामा बर्जु गाउँपालिका–५ बाट चौधरी पक्राउ परेका हुन् ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट चौधरीले भारतदेखि पेस्तोल ल्याएको पत्ता लागेको छ । ‘साथीसँगको समन्वयमा भारतबाट पेस्तोल ल्याएर घरमा राखेको खुलेको छ,’ प्रहरी स्रोतले भन्यो, ‘कुन प्रयोजनका लागि हतियार ल्याइएको हो भन्ने यकिन हुन बाँकी छ ।’

प्रहरीका अनुसार चौधरी र उनका साथी दुवै जना भारत गएर हतियार खरिद गरी नेपाल ल्याएका थिए । पक्राउ परेका चौधरीविरुद्ध भने अवैध हातहतियार ओसारपसार एवं भण्डारण मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान अघि बढाइएको डीएसपी राईले बताए ।

प्रकाशित मिति: २०२३-०८-३० , समय : ०९:०७:४३ , १ वर्ष अगाडि