श्रीराधाकृष्ण रथयात्रा विराटनगर नगर क्षेत्रको ४३ स्थानमा विश्राम लिने

ग्राउण्ड जिरो सम्बाददाता , १०६०  पटक हेरिएको

श्रीराधाकृष्ण रथयात्राले ४३ स्थानमा विश्राम लिने टुंगो लागेको छ । विराटगनर–१ तीनपैनी स्थित श्रीराधाकृष्ण मन्दिरबाट भाद्र २१ गते विहीबार निस्कने रथयात्रा विराटनगर नगर क्षेत्रको ४३ स्थानमा विश्राम लिने टुंगो लागेको रथयात्रा आयोजक समितिले जानकारी गराएको छ । जिल्ला प्रशासन कार्यालय मोरङको पहलमा बुधबार विराटनगरमा भएको सर्वपक्षिय छलफल कार्यक्रममा श्रीराधाकृष्ण मन्दिर समितिका अध्यक्ष कैलाश रेग्मीले ४३ स्थानमा रथयात्राले विश्राम लिने बताए ।

राधाकृष्ण मन्दिर समितिले निकाल्न लागेको रथयात्रालाई व्यवस्थित गर्ने उद्देश्यले आयोजना गरिएको सर्वपक्षिय छलफल कार्यक्रममा सरोकारवाला निकायका जिम्मेवार व्यक्तिहरुको सहभागिता रहेको थियो । रथयात्रा निस्कदा रथयात्राको रुटमा विद्युतिय लाइन काट्नु पर्नेदेखि सडक मार्गमा रहेको तारहरु हुकले उठाउनुपर्ने जस्ता विषयमा बैठकमा छलफल भएको थियो ।

छलफल कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी विरेन्द्र यादव, मोरङका प्रहरी प्रमुख एसपी दिपक पोखरेल, विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला लगायत सरोकारवाला निकायको जिम्मेवार पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

श्रीराधाकृष्ण मन्दिर समितिका पदाधिकारी तथा नेपाली कांग्रेसका युवा नेता कृष्ण कार्कीले विराटनगर–१ स्थित तीनपैनीबाट निस्कने रथयात्रा रोडशेष चौक भएर बरगाछी हुँदै पुनः तीनपैनी चौक स्थित मन्दिरमा पुगेर समापन हुने बताए । श्रीराधाकृष्ण मन्दिर समितिका उपाध्यक्ष नन्दकिशोर राठीले रथयात्रामा नेपाल र भारतका मेयरहरुको सहभागिता रहने भएकोले यस वर्षको रथयात्रा भव्य र सभ्य हुने बताए ।

प्रकाशित मिति: २०२३-०९-०२ , समय : १३:५१:५१ , १ वर्ष अगाडि